कोभिड १९ महामारीको दौरान सहकारीका सदस्यहरुबाट पूर्ण रुपमा डिजिटल बैंकिङ सेवाको माग गरिएको पाईयो । हाम्रा सहकारी संस्थाहरुले पहिले देखीनै मोबाईल बैंकिङ प्लेटफर्म, एटिएम तथा कतिपय म्यानुअल कामहरुलाई स्वचालित रुपमा सम्पादन गर्ने प्रविधिहरुको सुरुवात गरेका छन् तर यो पर्याप्त भने थिएन । सहकारीहरुले सुरुवात गरेको विभिन्न डिजिटल सेवाहरु सदस्यहरुले पूर्ण रुपमा प्रयोग गरेका थिएनन् वा धेरै सदस्यहरुले यसको उपयोग गरेका थिएनन् ।
सहकारी संस्थाहरुले हमेशा सदस्य सेवालाई प्राथमिकतामा दिईरह्यो र आफ्ना सेवाहरुद्वारा बैंक भन्दा फरक रहेको अनुभुती दिलाईरह्यो । तर कोभिड १९ को महामारीले मानिसहरुमा नयाँ बानीको अभ्यास गरादियो जस अनुसार मानिसहरु एक ठाउँमा बसेर धेरै ठाउँको कामहरु सम्पन्न गर्न चाहन्छन् भन्ने देखायो । यसबाट के बुझ्न सकिन्छ भने अब सहकारीका सदस्यहरु सन् २०२० भन्दा अगाडिको समयमा जस्तोे मुख्य कार्यालय र सेवाकेन्द्रहरुमा भौतिक रुपमा उपस्थित हुन कम रुची राख्नेछन । एक अध्ययन अनुसार ५५% सदस्यहरु अब सहकारीको कार्यालयहरुमा उपस्थित नभई सेवा लिन चाहन्छन् भन्ने देखाएको छ । त्यसैले प्रतिस्पर्धामा खरो उत्रन सहकारी संस्थाहरुले डिजिटल रुपान्तरणमा लगानी गर्नुपर्ने देखिन्छ जसले सदस्यहरुलाई सहकारीसंग जोडिरहन मद्दत पुर्याउनेछ र संस्थाको कार्यसञ्चालन कुशलता तथा उत्तोलन बृद्धि गर्नेछ ।
भर्खरै सम्पन्न भएको विश्व ऋण परिषद (WOCCU) को एक सम्मेलनमा बचत तथा ऋण सहकारी संस्थाहरु(Credit Unions) मा डिजिटल रुपान्तरको विषय उजागर भएको थियो । विश्व परिवेश संगै नेपालमा पनि सहकारी संस्थाहरुमा प्रविधियुक्त सेवाको विषय महत्वका साथ लिईन थालिएको छ । कोभिड १९ महामारीले धेरै क्षेत्रमा चुनौती खडा गरेता पनि सूचना प्रविधिको क्षेत्रमा प्रयोगमा भने अवसरहरु सृजना गरेको छ । दशौं वर्ष देखि सहकारी संस्थाहरुले प्रविधियुक्त सेवाको बारेमा बहस गरिरहेको तर डिजिटल रुपान्तरणमा जान नसकेको परिप्रेक्ष्यमा कोभिड १९ को महामारीले उक्त सोचहरुलाई तिव्र गतिमा कार्यान्वयनमा ल्याउन मद्दत पुर्याएको छ ।
एनालग स्वरुपबाट डिजिटल स्वरुपमा परिवर्तन हुने प्रकृयालाई सामान्यतया डिजिटल रुपान्तरण भनेर बुझ्न सकिन्छ । बचत तथा ऋण सहकारी संस्थाहरुको लागि डिजिटल रुपान्तरण भन्नाले सेवा प्रवाहमा नविनतम प्रविधिहरुको कार्यान्वयन गर्ने प्रकृयालाइ बुझाउँदछ । अर्को शब्दमा भनौं भने यो कुनै नविन प्रविधिहरु स्थापना गर्नु र कागजपत्रहरुलाई विभिन्न एप्लीकेसनहरुद्वारा डिजिटाईज गर्ने प्रकृया मात्र नभएर कुनै प्रविधिहरुमा लगानी गर्नु र सोलाई स्थापना गर्नुपूर्व पुनर्विचार गर्नेे प्रकृया पनि हो । अहिले डिजिटल रुपान्तरण स्वरुप RPA (Robotic Process Automation), AI (Artificial Intelligence and Predictive Analysis) / BI (Business Intelligence and Big data visualization) जस्ता औजारहरु (Tools) प्रयोगमा ल्याउन थालिएका छन् ।
डिजिटल रुपान्तरण चुस्त प्रविधिहरुमा आधारित एक फरक प्रकारको प्रविधि सम्बन्धी योजना हो जसबाट डिजिटाईजेसको लाभ शीघ्र प्राप्त गर्न सकिन्छ । डिजिटल रुपान्तरणलाई हामीले गन्तव्यको रुपमा नभई एउटा यात्राको रुपमा लिनु पर्दछ । र, यदी आर्थिक कारण, सदस्यहरुको बदलिँदो गतिशिलता या अनपेक्षित विश्वव्यापी कुनै माहामारीको कारण यसको कार्यप्रणाली परिवर्तन गर्न आवश्यक भयो भने कुनै पनि समय यसलाई परिवर्तन गर्न सकिने ललिचोपन हुन्छ । सहकारीहरुमा डिजिटल सेवाबाट हुने लाभ संक्षेपमा चर्चा गरिएको छ ।
सहकारीका तथ्याङ्कहरुको डिजिटाईजेसनले हातले गर्ने कार्यहरुलाई स्वचालित प्रविधिद्वारा गर्ने प्रकृयामा रुपान्तरण गर्दछ । उदाहरणको लागि खातापातामा लेखिएको तथ्याङ्कहरुलाई स्वचालित रुपमा प्रविष्टि गर्नको लागि Optical Character Recognition(OCR) को प्रयोग गर्न सकिन्छ । त्यसका साथै संस्थाको कार्यप्रवाह र कर्मचारीहरुलाई प्रदान गरिएको नियमित कार्यविवरणहरुको विश्लेषण गर्न समेत प्रविधिहरुको प्रयोग गर्न सकिन्छ ।
उच्चस्तरीय प्रविधिहरुको प्रयोग गर्नुको उद्देश्य सहकारी संस्थामा सदस्य तथा कर्मचारीहरुको अनुभुतीलाई राम्रो बनाउनु हो । सदस्यहरुले सजिलै जानकारीहरु प्राप्त गरुन र कर्मचारीहरुले विना झण्झट सेवा प्रदान गर्न सकुन भन्ने यसको उद्देश्य रहन्छ । उदाहरणको लागि कोभिड १९ को महामारी जस्तो कारणबाट लकडाउन वा निशेधाज्ञा जस्तो अवधिमा सेवा लिनको लागि कार्यालय खुले नखुलेको जानकारी प्राप्त गर्नको लागि RPA(Robotic Process Automation) को प्रयोग गर्न सकिने हुन्छ ।
कोभिड १९ को महामारीले सदस्यहरुमा प्रविधिको प्रयोगदर वृद्धि गरेको छ । सहकारीका सेवाहरुको लागि सदस्यहरुले विभिन्न एप्लीकेसनहरुको प्रयोग गर्न खोज्दछन् । उक्त प्रविधिहरु हामीसंग उपलब्ध छैन भने उपलब्ध भएको अर्को सहकारी वा बैंकमा स्थानान्तरण हुने सम्भावना बढी हुन्छ ।
बैंकिङ वा बचत तथा ऋण सहकारी संस्थाहरुको विशाल तथ्यांकआधार व्यवस्थापन गर्नको लागि प्रयोग गरिँदै आएको परम्परागत प्रविधि र प्रणालीहरुको महत्व धेरै ठुलो छ । तर तिनीहरुमा लचकताको सिमितता र समग्र प्रकृयामा निर्भर रहनुपर्ने बाध्यता रहन्छ । र, सदस्यहरु कारोवारको तत्काल प्रतिक्रिया चाहन्छन् । मोबाईल बैंकिङबाट गरिएको कारोबार अनलाईन बैंकिङमा तुरुन्त देखिएन भने उनीहरुले सहकारीको प्रणालीमा विश्वास गर्दैनन् । त्यसकारण डिजिटल रुपान्तरण भनेको एक अर्थमा सही अर्थको ओम्नीच्यानल बैंकिङ (Omni Chanel Banking) हो, जसले कुनै एक एपबाट अनलाईन कारोवार हुने वित्तीकै सोही समयमा अर्को माध्यममा उक्त कारोवारलाई प्रतिविम्बित गर्ने गर्दछ । मानिसहरु यति छिटो प्रतिक्रिया खोजीरहेका हुन्छन की अहिले कारोवार गरेर अहिले नै त्यसको परिणाम दिनुपर्ने हुन्छ । ओम्नीच्यानल प्रविधि नेपालमा बैंकिङ क्षेत्रमा भर्खर प्रयोगमा आउन लागेको प्रविधि हो । सहकारीहरु पनि यस प्रविधि प्रयोग गर्न पछि पर्नु हुँदैन ।
अधिकांश सहकारीहरुले प्रयोग गरिरहेका कोर बैंकिङ प्रणालीनै डिजिटल रुपान्तरको बाधक रहेको पाईन्छ । थोरै सेवा प्रदायकहरुले मात्र समय सापेक्ष प्रविधिहरु आफ्नो कोर बैंकिङ प्रणालीमा संलग्न गरेका हुन्छन् । जब समय सापेक्ष प्रविधिहरु जडान गर्ने प्रस्तावहरु गरिन्छ तव सेवा प्रदायकहरुले सफ्टवेयर प्रणालीको अगाडि देखिने स्वरुप(Front End Part) लाई आकर्षक बनाएर देखाउँछन् तर भित्री पाटोमा गर्नुपर्ने सुधारको कुरा एउटा दिवास्वप्न जस्तो मात्र भईदिन्छ । कुनै सुधार गर्ने वा समस्या समाधान गर्ने कुरा सेवा प्रदायकको तजविजीमा भर पर्ने हुन्छ । तसर्थ डिजिटल रुपान्तरणमा जानु भनेको नै मुख्य प्रविधि प्रदायक संगको निर्भरतामा कमी गर्दै जानु हो ।
सहकारी संस्थाले कुनै एउटा नयाँ सेवा आफ्नो मोबाईल बैंकिङ सेवामा जोड्ने निर्णय गर्छ र सेवा प्रदायकलाई उक्त विशेषताको लागि अनुरोध गर्छ । सेवा प्रदायकले उक्त विशेषता थप गरी सञ्चालन योग्य बनाउन्जेल बजारमा प्रतिस्पर्धीले उक्त विशेषता प्रचलनमा ल्याउन सफल भईसक्छ । हाम्रो प्रविधिको गुणस्तर यस प्रकार रहेको छ । तसर्थ डिजिटल रुपान्तरण केही हप्ता भित्र नै आवश्यक विशेषताहरु सहितको सेवा सुरुवात गर्न सहकारी संस्थाहरुलाई योग्य बनाउँछ ।
बचत तथा ऋण सहकारी संस्था र बैंकहरुले गर्ने व्यवसाय एउटै खालको छ,भलै सहकारीहरु बैंक भन्दा मुलभुत रुपमै भिन्न छन् । सहकारीको अवधारणा र सेवा क्षेत्र धेरै फराकिलो छ । तर वित्तिय पक्ष यसको प्रमुख विषय हो । जव सहकारीहरुले वित्तिय सेवा दिन्छन यसका सदस्यहरुले समय सापेक्ष प्रविधियुक्त सेवाको माग गर्दछन् तर प्रविधियुक्त सेवाको लागि नेपालमा उपयुक्त कानुनी वातावरण बन्न सकेको छैन । सहकारी संस्थाहरुलाई डिजिटल कारोवारको अनुमती दिने, सोको व्यवस्थापन गर्ने र नियमन गर्ने ऐन बन्न सकेको छैन । नेपाल राष्ट्र बैंक प्रत्यक्ष रुपमा सहकारी संस्थालाई सोको अनुमती दिन चाहँदैन र सहकारी विभागसंग सो सम्बन्धी नियमन गर्न कानुनी र प्राविधिक स्रोत छैन ।
दशौं वर्ष देखि सञ्चालन हुँदै आईरहेको वित्त प्रविधिको लागि सिपयुक्त जनशक्तिको सानो बजार मात्र हामीकहाँ उपलब्ध छ । उदाहरणको लागि COBOL Programing language कलेजहरुमा पनि पढाई भएको थाहा छैन । सहकारीका सूचना प्रविधि सम्बन्धी कर्मचारीहरुले विरलै मात्र COBOL Programing कोड जानेका होलान् । दक्ष जनशक्तिकै अभावले अन्य स्रोतहरुको व्यवस्थापन भएता पनि समयमा अपेक्षित फड्को मार्न सकिने अवस्था देखिँदैन ।
सहकारीहरुले प्रयोग गर्दै आईरहेको डिजिटल वित्त प्रविधिहरुको कुरा गर्दा आधारभुत कुराहरु निर्माण भईसकेपछि यसलाई पुरा भएको मान्ने वा गहिराईसम्म पुगेर सबै पक्षहरुमा काम गर्नेे प्रचलन कम रहेको पाइन्छ । हिजो आज बचत तथा ऋण सहकारी संस्था मात्र सञ्चालन गर्नु भनेको कम्तिमा ५ देखी ६ वटा फ्याक्ट्री सञ्चालन गरे बराबर हुन आउँछ । सेवाकेन्द्र व्यवस्थापन, लगानी, असुली, भित्री कार्यालय, सदस्य सेवा कक्ष, सूचना प्रविधि आदि ईकाईहरु कुनै फ्याक्ट्री भन्दा कम हुँदैनन् र ती प्रत्येक ईकाबाट प्रवाह हुने सेवाहरुमा गुणस्तर ल्याउनको लागि सबै पक्षमा उतिकै महत्वका साथ प्राथमिकता दिनु पर्ने हुन्छ तर हामी एउटा कोर बैंकिङ प्रणाली निर्माण भए पछि सबै कुरा बनिसकेको भन्ने सोच राख्दछौ र कतिपय सामान्य प्रतिवेदनहरुको लागि एक्सेल लगायतका अन्य एपहरुको साहारा लिन्छौं ।
टाढैबाट स्मार्ट फोन, ट्याब्लेट जस्ता मोबाईल उपकरणहरुबाट वित्तीय सेवाहरु लिन सकिने गरी बैंक तथा वित्तीय संस्थाहरुले उपलब्ध गराएको डिजिटल सेवालाई मोबाईल बैंकिङ सेवा भनिन्छ । हिजोआज सहकारी संस्थाहरुको मोबाईल बैंकिङबाट धेरै प्रकारका वित्तीय सेवाहरु लिन सकिन्छ । विगतका दिनहरुमा सामान्य बैकिङ तथा युटिलिटी विल्स पेमेन्टहरुबाट सुरु भएको मोबाईल बैंकिङ सेवा आज फण्ड ट्रान्सफर (Bank to Coop, Coop to Bank ), वालेटहरुमा रकम लोड गर्ने (eSewa, Khalti, IME Pay, PrabhuPay etc), रेमिट्यान्स, राईड शेयरिङ (Tootle, Patho), ब्रोकर पेमेन्ट, मेरो शेयर र डिम्याट नविकरण, बस/एयर टिकेटिङ, सरकारी भुक्तानी (Tax payment, Traffic fine), क्रेडिट कार्डको रकम भुक्तानी, कार्डरहित एटिएम सेवा(Card Less ATM) डाटा प्याक खरिद जस्ता सेवाहरु थप भई सहकारीहरुलाई बजारमा प्रतिस्पर्धी सेवा दिन सक्षम बनाएको छ ।
यो बैंक तथा वित्तीय संस्थाहरुले उपलब्ध गराउने विद्युतीय बैंकिङ उपकरण हो जस्ले सदस्यहरुलाई कुनै मानविय सहायता विना २४ सै घण्टा आफ्नो आधारभुत वित्तीय आवश्यकता पुरा गर्न सहयोग गर्दछ । हाल नेपालमा चन्द्रागिरि साकोस, पोखरा रोयल साकोस, विकु साकोस र सामुदायिक साकोस लगायत ८७ वटा सहकारी संस्थाहरुले SCT नेटवर्कमा आवद्ध भई यो सेवा आफ्ना सदस्यहरुलाई उपलब्ध गराउँदै आएका छन् । सहकारीको एटिएम कार्डबाट देशभर यो सेवा दिईरहेको सहकारीहरुको एटिम तथा अधिकांश बैंकहरुको एटिएम लगायत छिमेकी मुलुक भारतबाट समेत खाताको रकम निकाल्न सकिने सुविधा सदस्यहरुमा उपलब्ध हुँदै आईरहेको छ । त्यति मात्र नभई विद्युतीय भुक्तानी POS(Point of Sell) सुविधा पनि सहकारी संस्थाहरुको एटिएम कार्डबाट उपलब्ध रहेको छ ।
कियोस्क उपकरण (KISOK Terminal) को माध्यमबाट सहकारी संस्थामा रहेको आफ्नो खातामा रकम जम्मा गर्न सुविधा हुने गरी व्यवस्था गरिएको प्रविधिलाई कियोस्क बैंकिङ भनिन्छ । यो नेपालमा नविनतम अवधारणा हो । अधिकांस सहकारी संस्थाहरुका सदस्यहरुलाई नियमित बचत गर्ने बानी बसाल्नको लागि अभिप्रेरित गरिएको हुन्छ । नियमित जम्मा गर्ने बचत रकम सानो रकमको हुन्छ । उक्त बचत आफुलाई अनुकुल हुने जुनसुकै समयमा गर्न सकिन्छ, काउन्टरमा गई भौचर जम्मा गर्नुपर्ने झन्झट व्यहोर्नु नपर्ने हुन्छ । सहकारी संस्था, अस्पताल, सपिङ मल, विमानस्थल लगायतमा राखिएका कियोस्क उपकरणहरुबाट आफ्नो खातामा रकम जम्मा गर्न सकिन्छ । यो सेवा मानव रहित सेवा हो, सदस्यहरुले आफ्नो खाता नम्बर उक्त उपकरणमा टाईप गरी सुनिश्चित भए पछि रकम सोही मेशिन भित्र छिराई जम्मा गरेको स्लिप लिन सक्दछन् ।
ईन्टरनेट बैंकिङलाई अनलाईन बैंकिङ, वेभ बैंकिङ वा होम बैंकिङ पनि भनिन्छ । ईन्टरनेटको माध्यमबाट बैकिङ कारोवार गर्ने प्रविधि नै ईन्टरनेट बैंकिङ हो । नेपालमा प्रारम्भिक सहकारी संस्थाहरु भन्दा पनि राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुन जस्ता संघ संस्थाहरुले आफ्नो सदस्य संस्थाहरुको लागि यो सेवा प्रवाह गरिरहेका छन् ।
एस.एम.एस. को माध्यमबाट वित्तीय कारोवारहरुको जानकारी गराउने तथा आधारभुत वित्तीय कारोवार समेत गर्न सक्ने गरी बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने मोबाईल नम्बरमा आधारित सेवालाई एस.एम.एस बैंकिङ सेवा भनिन्छ । आजकाल अधिकांश सहकारी संस्थाहरुले उक्त सेवा उपलब्ध गराउने गरेका छन् ।
ट्याब्लेट उपकरणको प्रयोग गरी सहकारीका सदस्यहरुले सहकारीको कुनै पनि सेवाकेन्द्र वा कार्यालयमा नगईकनै नयाँ सदस्यता लिन, खाता खोल्न र संस्थाका कर्मचारीहरु मार्फत तोकिए बमोजिमका वित्तीय कारोवार गर्नको लागि कोर बैंकिङ प्रणालीसम्म अनुमती दिने प्रविधिलाई ट्याब बैंकिङ भनिन्छ । यसबाट सदस्यहरुले आफ्नो फोटो, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, दस्तखत नमुना, औंठा छाप आदि पनि संग्रहित गर्न सक्दछन् । हिजो आज सहकारीहरुले साथी बैंकिङ, स्पोट बैंकिङ, दैनिक संकलन आदि नामबाट सेवाकेन्द्र रहीत सेवाको लागि यो प्रविधिको उपयोग गर्दै आईरहेका छन् ।