शनिबार, वैशाख ८
०२:२७

सहकारीमार्फत आत्मनिर्भरता सँगै नेतृत्व विकास 

बिहीबार, कात्तिक ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रोशनी पाठक
नुवाकोट

नेपाली समाज मेलमिलाप र आपसी सहयोगको संस्कृतिमा धनी छ । समुदायका मानिसहरु मिलेर आर्थिक, सामाजिक, तथा सांस्कृतिक विकासका लागि स्थापना गरिने सीमित दायित्व भएको संस्था सहकारी हो । आपसी सहकार्यबाट गरिने सहकारीको अवधारणा धेरै अगाडिबाट देखिए पनि आधुनिक मूल्य मान्यतामा आधारित सहकारीको इतिहास खोज्दा सन् १८४४ मा बेलायती समाज सुधारक Mr. Robert Owen ले खोलेको Commune Cooperative Society नामको सहकारीलाई  पहिलो सहकारीको रुपमा पाउँछौं । नेपालमा भने प्राचीनकालदेखि नै गुठी, धर्मभकारी, पर्म आदि नामबाट सहकार्य भएको मानिन्छ । 

समाजभित्र छरिएर रहेको पुँजी, प्रविधि र सीपलाई स्वावलम्बन तथा पारस्पारिकताका आधारमा एकीकृत सदस्यहरूको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका निम्ति स्थापना भएको संस्था सहकारी हो । “एकका लागि सबै र सबैका लागि एक” भन्ने मूल भावका साथ सहकारी सञ्चालन भएको हो । सर्वप्रथम वि.सं. २०१३ सालमा तत्कालिन सरकारको कार्यकारी आदेशमा चितवन जिल्लामा बखान ऋण समिति प्रारम्भिक संस्था स्थापना भएको थियो । हाल नेपालमा कुल २९ हजार ८ सय ८६ सहकारी दर्ता भएको अवस्था छ । यसमध्ये ४ हजार १ सय १३ सहकारी त महिलाद्वारा नै संचालित छन् । पछिल्लो तथ्यांक हेर्दा सहकारीमा महिला सहभागिता ५६ प्रतिशत छ, जुन पुरुषको तुलनामा १२ प्रतिशतले बढी हो । सहभागितात्मक आँकडा बढी भएपनि सहकारीको नेतृत्व तहमा महिलाको उपस्थिति नगन्य नै छ । सहकारीमा महिला नेतृत्व अभिवृद्धि सर्वप्रथम महिलाहरुको क्षमता विकास सँगसँगै आर्थिक सशक्तिकरण महत्वपूर्ण पाटो हो । सहकारीमा महिला नेतृत्व अभिबृद्धि गर्न महिला मैत्री नीति, कार्यवातावरण र क्षमता अभिबृद्धि सँगै समुदायमा वित्तीय पहुँच मार्फत आर्थिक आत्मनिर्भरता बढाउनु आवश्यक छ ।

सहकारीमा आवद्ध हुने महिलाहरूको संख्या पछिल्लो समय झनै उकालो लाग्दो देखिएको छ ।  विगतमा चुलो र चौकामा मात्र सिमित हुने महिलाहरू अहिले आफूले सहकारीमा जम्मा गरेको सानो–सानो रकमबाटै उद्यममा लगानी र आर्थिक आम्दानी गर्नतर्फ अग्रसर बन्दैछन् । यति मात्र नभएर उनीहरुको हरेक आर्थिक समस्या सुल्झाउन पनि सहकारीले नै सहयोग गरेको छ । जम्मा भएको रकमको आकर्षक व्याज दिनु र आवश्यक परेको खण्डमा  सुलभ दरमा ऋण प्रदान गर्नु सहकारीको प्रमुख विशेषता पनि हो । थोरै लगानीबाट धेरै फाइदा पाइने भएकाले पनि सहकारीतर्फ महिलाहरूको आकर्षण बढ्दै छ । घरायसी कामकाजमा मात्र अल्झिने महिलाहरु अहिले आफ्नो जीवन स्तर यहि सहकारीको माध्यमबाट उकास्दै छन् । सहकारीबाट ऋण लिएर सानादेखि मध्यम खालका व्यवसाय गर्दै महिलाहरु लखपति अनि करोडपति बनेका छन् । बाख्रा, कुखुरा, माछा, बुङ्गुर जस्ता व्यावसायिक बस्तुपालन, कृषि तथा खेतीपाती अनि तिनीहरूका लागि आवश्यक पर्ने आधुनिक मेसिनहरु खरीदका लागि पनि सहकारीले महिलाहरुलाई विशेष सहुलियतमा कर्जा प्रदान गर्ने गरेका छन् । त्यस्तै घरायसी र स्थानीय उत्पादनको सदुपयोग गर्दै साना तथा मझौला खालका उद्योग सञ्चालनमा पनि सहकारीको उल्लेखनीय भूमिका रहेको पाइन्छ । यसरी हरेक वर्गका मानिसहरूलाई उत्तिकै प्राथमिकता दिँदै स्तर उन्नतिमा विशेष टेवा पुर्याउने भएकाले महिलाहरूले पनि धेरै बर्षदेखि सहकारीमा आवद्ध भई फाइदा लिइरहेका छन् । 

यति मात्र नभई सहकारीमा एकैचोटि ठूलो रकम जम्मा गर्न नपर्ने र आफूलाई आवश्यक परेका खण्डमा सजिलै निकाल्न सक्ने भएकोले पनि महिलाहरुलाई धेरै सहज भएको छ । सहकारीकै माध्यमबाट घरको गुजारा गर्ने र परेको बेला परिवारलाई सहयोग गर्न सकिएको महिलाहरू बताउँछन् । आफूलाई आवश्यक परेको बेला पुरुषहरूसँग हात थाप्न नपर्ने र मन लागेको कुरामा आफ्नै बचतको पैसा चलाउन पाउँदा उनीहरू दङ्ग छन् । बेलाबेलामा सञ्चालन हुने सीपमूलक तालिमहरूले आफूहरूलाई आर्थिक रुपमा मात्र नभइकन सामाजिक , साँस्कृतिक तथा नेतृत्वदायी क्षेत्रमा पनि सबल बनाएको उनीहरूले प्रष्ट पार्दछन् । 

अहिले प्रायः  हरेक घरका महिला सदस्य सहकारीमा आवद्ध भएको पाइन्छ ।  सहकारीमा आवद्ध भएर सफल भएका लगनशील महिला उद्यमीहरूको उदाहरण हाम्रो समाजमा प्रशस्त पाईन्छ । तर पनि माथिल्लो स्तरमा भने महिलाहरूको पहुँच निकै नै कम छ । उनीहरूलाई केवल साधारण सदस्यमा राखेर कार्यसमितिमा भने पुरुषहरूले नै रजाईँ गरिरहेका छन् । महिलाहरूको मागलाई थोरै प्राथमिकता दिँदै आफ्नै मनगणन्ते सोचलाई निरन्तरता दिने चलन पूर्ण रुपमा अन्त्य भइसकेको छैन । हरेक क्षेत्रमा समान अवसर र हक पाउनु पर्छ भनेर आवाज उठिरहेको बेला सहकारी क्षेत्रमा पनि महिलाहरूलाई समान अधिकार र पहुँच साथै नेतृत्व तहमा महिला उपस्थिति जरुरी छ । सहकारी मार्फत समाज तथा देशको विकास र उन्नतिमा महिलाहरुको नेतृत्वलाई प्रवल बनाउनु अतिआवश्यक देखिन्छ । यतिवेला सहकारी संघ संस्थाहरुमा बार्षिक साधारणसभाको माहोल छ । कतिपय सहकारीहरुमा नयाँ नेतृत्व चयन भएका छन् भने साधारणसभा हुन बाँकी संघ संस्थाहरु नेतृत्व चयनको प्रक्रियामा पनि छन् । सहकारीमा आबद्ध सदस्य र नेतृत्व तहमा रहेकाहरुले सहकारी क्षेत्रको विकास र प्रबर्धनमा अब ३३ प्रतिशत मात्रै हेर्ने होइन बढी भन्दा बढी नेतृत्व तहमा महिलाको पहुँच सुनिश्चित गर्नुपर्ने देखिन्छ ।  

लेखक त्रिचन्द्र बहुमुखी क्याम्पस काठमाडौंमा माइक्रोबायोलोजी विषयमा स्नातक तेस्रो बर्षमा अध्ययनरत हुनुहुन्छ । 
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ