शुक्रबार, चैत्र १६
०२:११

स्वायन्त सुखायका लागि सहकारी, समाजसेवा र साहित्य

मंगलबार, भदौ २९
रञ्जनमणि पौड्याल
saccosaawaj

(७८ वर्षमा यात्रारत सावित्री थापा सहकारी, समाजसेवा र साहित्यको त्रिवेणी हुनुहुन्छ । सहकारीबाट सुरु भएको उहाँको सक्रियता समाजसेवा हुँदै साहित्यसम्म फैलिएको छ । २०५० सालमा नै ‘सहकारी परिचय’ पुस्तक प्रकाशन गर्नुभएकी विदुषी थापा जीवनको तेस्रो इनिङमा समेत १२ औं कृतिको तयारीमा हुनुहुन्छ । २०६७ सालमा अभियानका अग्रजहरुको तर्फबाट सम्मानित नेफ्स्कूनकी संस्थापक उपाध्यक्ष, प्रखर समाजसेवी एवम् साहित्य साधक थापासँग काठमाडौं महानगरपालिका ३१ भिमसेनगोला, पासाङ ल्हामु मार्गस्थित निजी निवासमा गरिएको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः) 

जन्म, पारिवारिक संरचना र र शिक्षाका बारे केही बताइदिनुहुन्छ कि ?  
२००१ साल जेठ २५ गते भक्तपुरको टौमढी टोलमा मेरो जन्म भएको हो । बुबा गोविन्दहरि जङ्गम र २ आमाका ६ छोरी ४ छोरा मध्ये जेठी हुँ । बुबा भक्तपुर नगरको पहिलो निर्वाचित मेयर हुनुहुन्थ्यो । समाजसेवीसँगै छोरीहरुलाई पढाउनुपर्छ भन्ने सोचको हुनुहुन्थ्यो । म पिताकी प्रिय थिएँ । सम्पन्न परिवारमा मेरो जन्म भएपनि पारिवारिक किचलोका कारण भक्तपुरबाट बिस्थापित भई मध्यबानेश्वर, डिल्लीबजार हुँदै हामी पुनः बानेश्वर फर्कियौं । बरिष्ठ सङ्गीतकार दिपक जङ्गम, गायक पुष्कर जङ्गम, लेखक भरत जङ्गम मेरा भाइहरु हुन् । २०२५ सालमा ओखलढुङ्गाका भोलामानसिंह थापा सँग मागी (अन्तरजातीय) बिवाह भयो । श्रीमान् करिब १० वर्ष ओखलढुङ्गाका जिल्ला पञ्चायत सभापति हुनुहुन्थ्यो भने २०३९ सालमा भौतिक, निर्माण तथा यातायात सहायक मन्त्री र पछि वन सहायकमन्त्री हुनुभयो । छोरा सुदिपसिंह र छोरी भावना थापा दुबैको बिवाह भैसकेको छ । छोरा विदेशमा बसेपनि बेलाबेला नेपाल आइरहन्छ । छोरोको परिवार, श्रीमान र म यहाँ बस्छौं । श्रीमान १५ वर्षदेखि रोगले थला पर्नुभएको छ, सेन्सलेस हुनुभएकै १० वर्ष भयो ।

बाल्यकाल भक्तपुरमा बित्यो । केही समय भक्तपुरको विद्यार्थी निकेतन पढेँ र पछि त्यहीको श्रीपद्म हाइस्कूलबाट २०१३ सालमा १३ वर्षमा एसएलसी उत्तीर्ण गरेँ । आइए र बीए पद्मकन्या (हाल कन्या मावि भएको स्थान डिल्लीबजारमा थियो र पछि सरेर टुकुचा पुल नजिक) क्याम्पसबाट गरेँ । २०२० सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा द्धितीय श्रेणीमा स्नातकोत्तर सकेँ । छोरीलाई घर बाहिर निस्कन र पढ्न सकसपूर्ण अवस्थामा एमए पास गर्नु ठूलो कुरा थियो । जङ्गम परिवारमा स्नाकोत्तर (राजनीतिशास्त्र) उत्तीर्ण गर्ने म पहिलो हुँ । त्यो समय छोरीले एसएलसी पास गर्नु नै धेरै पढेको मानिन्थ्यो भने एमए पास गरेको भन्दा त मानिसहरु जिब्रो टोक्थेँ ।

२०२७ सालमा कानुनमा स्नातक पनि गरेँ । कम उमेरका कारण विद्यावारिधी गर्ने बेला भएको छैन भन्दै त्रिवी विभागीय प्रमुखले पढ्न स्वीकृति नदिएरका कारण पीएचडी गर्ने सपना अपूरै रह्यो । त्यसबेला सार्वजनिक यातायात थिएन, कहिलेकाही कोही साथी हुन्थे तर धरै जसो एक्लै हिडेर क्याम्पस जान्थेँ । त्यो बेला त्रिवि त्रिपुरेश्वरमा थियो । प्राध्यापकहरु कम भएका कारण एमए पढाउन कोलम्बो प्लानबाट विदेशीहरु आउनुहुन्थ्यो । ऋषिकेश शाह, वासुदेवचन्द्र मल्ल (पूर्व उपकुलपति) आदि मेरा गुरु हुनुहुन्थ्यो । मोहनमान सैंजू, नवराज सुवेदी लगायत समकक्षी हुनुहुन्थ्यो । एमए पढ्दा एक दिन पछि कक्षा गयल भइन । सम्झनुहोस् त्यो समय छोरीहरुका लागि पढ्न, कम उमेरमै विवाह गर्ने प्रचलन विरुद्ध उभिन र स्नातकोत्तर गर्न कति कठिन थियो होला ?

सहकारी क्षेत्रमा कसरी लाग्नुभयो ?
विश्वबन्धु थापाको आग्रहमा सहकारी क्षेत्र प्रवेश गरेँ । विश्वबन्धु थापा त्यस बेला एकदमै पावरफुल मन्त्री हुनुहुन्थ्यो । बीपी कोइराला प्रधानमन्त्री भएको बेला २०१६ सालमा उहाँले थापालाई समेत लिएर इजरालय भ्रमण गर्नुभएको थियो । देशको आर्थिक विकासको लागि उपयुक्त मोडलको बारेमा बहस चलिरहँदा इजरेलले त्यसबेला किबुत्ज् सहकारीका माध्यमबाट आर्थिक सामाजिक विकास गरेको चर्चा चुलिएको थियो । इजरायली सहकारी मोडेलबारे उक्त भ्रमणमा जानकारी लिएपछि फर्कनुभएका थापाले पछि त्रिभुवन विश्वविद्यालयका शिक्षित जनशक्तिहरुलाई पनि ‘साझा अभियान’ मा सामेल गराउने उद्देश्यका साथ म लगायत सुर्दशन बहादर सिंह (पूर्व सचिव), टिकाभूषण दाहाल, रमेशजङ थापा र अर्को एक जना गरी ५ जनासँग २०१९ सालतिर कुरा गर्नुभयो । मैले नाइँ भन्न सकिन । महिला म मात्रै थिएँ । २०२० सालमा साझा केन्द्रीय कार्यालयको कल्याणकारी अधिकृत (वेलफेयर अफिसर) को रुपमा नियुक्त भएर करिब २ वर्ष काम गरेँ । मासिक २ सय पारिश्रमिक थियो ।

थापाको अध्यक्षतामा हंसमान मल्ल, जुद्धबहादुर श्रेष्ठ, तत्कालिन सचिव कृष्ण बम मल्ल आदिको संलग्नतामा साझा केन्द्रीय बोर्ड गठन भएको थियो । पछि कमलमणि दीक्षितलाई पनि समावेश गराइयो । रानी जगदम्बाले जग्गा उपलब्ध गराउनुभयो । साझा परिषद् अन्तर्गत साझा यातायात, साझा स्वास्थ्य सेवा, साझा प्रकाशन र साझा भण्डारको स्थापना भएका थिए । सबैभन्दा पहिले साझा यातायात स्थापना भयो । त्यसबेला राजाले ५ लाख रुपैयाँको सेयर किनेका थिए ।

त्यसबेला नेपालको जनसंख्या १ करोड थियो । विश्वबन्धु थापाले १ करोड जनताले आफ्नो भनेर यातायात, औषधी, पुस्तक तथा पत्रपत्रिका आदि उपभोग गर्न सक्ने स्थितिका लागि सहकारीका माध्यमबाट यस्ता आवश्यकताहरु परिपूर्ति गर्न भनेर साझा यातायात, साझा भण्डार, साझा प्रकाशन आदिको स्थापनाको परिकल्पना सुनाउनुभएको थियो । मलाई पनि नेपालको आर्थिक विकासका लागि सहकारी अपरिहार्य छ भन्ने लाग्यो ।

त्यसबेला साझा कसरी अघि बढेको थियो ?
२०१९ सालमा स्थापित साझा यातायातका सेयर सदस्य ७५० थिए । २०२१ सालमा स्थापित साझा प्रकाशनका सेयर सदसय ११४९ र पुँजी ७ लाख थियो भने सोही साल स्थापित साझा भण्डारका सेयर सदस्य १५० र पुँजी २ लाख ४५ हजार थियो । यस्तै, २०२१ सालमै स्थापित साझा स्वास्थ्य सेवाका सेयर सदस्य ७१९ र पुँजी ५ लाख ६ हजार थियो भने २०३१ सालम स्थापना भएको साझा पसल सेवाका सेयर सदस्य १० जना थिए । यी सबै संस्था संरक्षण र प्रबन्ध गर्न साझा केन्द्र भन्ने एपेक्स बडी थियो ।

साझाका कुन कुन निकायमा कस्तो संलग्नता रह्यो ?
साझा स्वास्थ्य सेवामा ८ वर्ष सञ्चालक भएर काम गरेँ । २०३७ देखि २०४२ सम्म त्यहाँको पहिलो महिला महाप्रबन्धक भएर काम गरेँ । २०४२ सालमा राजाबाट साझा केन्द्रीय बोर्डको सदस्य सचिवमा नियुक्त भई ६ वर्षसम्म काम गरेँ । क्षेत्रप्रताप अधिकारीको पदावधि सकिएपछि उक्त पदमा नियुक्त भएकी थिएँ । हालको राष्ट्रिय सहकारी विकास बोर्डको पहिलो महिला सदस्य सचिव भएँ । साझा बोर्डमा २ अध्यक्ष भोजराज घिमिरे र कमलराज रेग्मीसँग काम गरेँ ।  महाप्रबन्धक हुँदा पनि भोकभोकै कार्यालय जानुपर्ने अवस्था थियो, राजनीतिमा लागेका श्रीमानलाई भेट्न मानिसहरुको भीड लाग्ने कारण समयमा खाना पाक्दैनथ्यो, बालक छोराछोरीलाई हेनुपदथ्र्यो, परिवारको दायित्व, सबैतिरको व्यवस्थापन गर्नुपथ्र्यो तर पनि हिम्मत हारिन ।

नेफ्स्कून स्थापनको तयारीका विषयमा केही बताइदिनुहुन्छ कि ?
नेफ्स्कून स्थापनाको तयारी स्वरुप साझा बोर्डमा भएको पहिलो बैठकबारे मलाई जानकारी भएन । दोस्रो बैठकमा जानकारी भयो । साझा केन्द्रीय बोर्डमा सदस्य सचिव भएका कारण बचत समूह राष्ट्रिय तदर्थ समिति नेपालमा पनि सबैको आग्रहमा उपाध्यक्षको काम गरेँ । २०४५ मंसिर २२ गते गरिएको पद विभाजनमा मलाई र नारायण शर्मा गजुरेललाई उपाध्यक्षको जिम्मेवारी दिइएको थियो । नेफ्स्कून जस्तो निकाय खोल्न ऐनमा प्रावधान र परिस्थिति पनि अनुकूल थिएन । त्यसका लागि धेरै छलफल भए । विदेशी परामर्शदाताहरुले सल्लाह दिएका थिए । गैरसरकारी संघको प्रारुपमा तदर्थ समिति गठन कानुनी अड्चन थियो । त्यसका लागि हामीले काम गर्यौं । विधान बनाउने, संस्था कसरी चलाउने, संस्थाको लक्ष्य कस्तो बनाउने लगायतका विषयमा परिकल्पना गथ्र्यौ । नेफ्स्कूनको जग बसाल्ने समयमा केही काम गर्ने अवसर मिल्यो । 

त्यसबेला बचतको महत्व बारे प्रचारप्रसारको कमी थियो । सहकारी बुझाइ कमी थियो । संस्था चलाउन पैसा थिएन । साझा केन्द्रमा बैंठक बस्थ्यौं । कापी कलम पनि साझा केन्द्रकै प्रयोग हुन्थ्यो । हामी साझा केन्द्रमा रहेकाले ुकनै समस्या थिएन । चिया पनि आफ्नै पैसाले खान्थ्यौं । यसरी नेफ्स्कूनलाई हुर्काएको हौं । यसकारण नेफ्स्कूनको माया लाग्छ । यसको प्रगतिमा आनन्द हुन्छ । नेफ्स्कूनमा आबद्ध गराउन संस्थाहरु खोजी सदस्यता दिन्थ्यौं ।

भोजराज घिमिरेसँगको केही स्मरण उल्लेख गर्न चाहनुहुन्छ कि ?
उहाँ एकदमै भद्र र कामप्रति लगाव भएको व्यक्तित्व हुनुहुन्थ्यो । मेरो प्रोफेस्नल सम्बन्ध मात्र भयो उहाँसँग । राजनीतिक रुपमा पनि सक्रिय रहेकाले उहाँको ओज फरक थियो । एउटा विषय भने याद आइरहन्छ–बोर्डमा काम गर्दा भोजराजजीले अपरिचितहरुसँग मेरो परिचय गराउँदा भोलामान सिंहकी पत्नी भन्नुभएको थियो । त्यसमा भने मलाई चित्त दुखेको थियो । मेरो आफ्नै पहिचान थियो, म पनि सदस्य सचिव थिएँ । मलाई मेरा पतिसँग जोडेर परिचय नगराएको भए हुन्थ्यो भन्ने लाग्छ ।

समाज सेवाका क्षेत्रमा के कस्ता कामहरु गर्नुभयो ?
२०२३ सालदेखि करिब १ दशक रेडक्रस सोसाइटीमा काम गरेँ । २०३२ सालमा गृह मन्त्रालय अन्तर्गत समाज कल्याण डेस्कमा उपसचिवको रुपमा काम गरेँ । हालको समाज कल्याण परिषद्को परिकल्पनाकार रहेँ । नेपालको पहिलो वृद्धाश्रम पशुपति वृद्धाश्रम स्थापनामा पनि केही भूमिका खेलेँ । २०३८ सालमा महिला तथा विकास केन्द्रको स्थापना,  २०४९ सालमा महिला सुरक्षा दबाब समूहको संस्थापक सदस्यदेखि २०७२ देखि २०७७ सालसम्म अध्यक्ष रहेँ । शान्ति आश्रमको संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, जेष्ठ नागरिक सरोकार संस्थाको संरक्षक, बालबालिका सम्बन्धी संस्था होस्टे हैंसे, महिला आधारशिलाको सल्लाहकार आदि भएर काम गरेँ । 

मनमा सधैं समाजमा पछि परेकाहरुको हितमा काम गर्नुपर्छ, अभाव र पीडामा परेकाहरुको दुःखमा मल्हम लगाउनुपर्छ, महिला, ज्येष्ठ नागरिक र बालबालिकाको पक्षमा आवाज उठाउनुपर्छ भन्ने सधै मनमा लाग्थ्यो । यस्तै काम गर्दागर्दै, २०३६ सालमा संयुक्त राष्ट्र संघको ३४ औं महासभामा पनि नेपालको प्रतिनिधित्व गर्दै भाग लिने अवसर मिल्यो । त्यस्तै, करिब १५ वटा मुलुक र स्वदेशमा कर्णाली अञ्चलबाहेक जिल्लाहरु भ्रमण गर्ने मौका पाएँ ।साँच्चे भन्ने हो भने, विभिन्न क्षेत्रमा काम गर्दै जाँदा आफु योङ भएको पत्तै भएन । अग्रजहरुले समेत ‘दिदी’ भनेर बोलाउँथेँ । मेरो अर्को रुचि, अध्यात्म पनि हो । मेरो विचारमा गीता भावनात्मक आचारसंहिता हो । 

साहित्यमा पनि लाग्नुभएको छ हैन ?

साहित्य पनि मेरो रुचि र सोख हो । सानैदेखि त्यस्तै माहोल बन्यो । साहित्यका विभिन्न विधामा कलम चलाउछु । लेख रचनासँगै अधिकांश पुस्तकहरु साहित्यसम्बन्धी नै छन् । साहित्य विचार अभिव्यक्तिको सशक्त माध्यम हो ।

 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी