शुक्रबार, वैशाख ७
०९:११

‘सहकारी संलग्नताबाट बढी आत्मसन्तुष्टि मिलेको छ’

शनिबार, भदौ १९
रञ्जनमणि पौड्याल
saccosaawaj

ताप्लेजुङबाट मोरङ झरियो

बुबा इन्द्र प्रसाद र आमा कृष्णमाया खतिवडाको जेठो सन्तानको रुपमा २०१८ साल कार्तिक १२ गते ताप्लेजुङको नाङ्खुल्याङ गाविसमा जन्म भएको हो ।  करिब १५ वर्ष हुँदासम्म ताप्लेजुङमा बसेँ । त्यसपछि मोरङको लेटाङ वडा नं २ बसाइ सरेपछि आजपर्यन्त त्यही नै स्थायी बसोवास छ । बुबाले जुन ठाउँमा आएर जग्गा किन्नुभयो त्यही ठाउँमै छु । अस्थायी बसोबास काठमाडौंमा छ ।

बुबा हाल ८५ वर्ष र आमा ८४ वर्ष प्रवेश गर्नुभयो । परिवारमा श्रीमती दिलकुमारी भट्टराई, छोराहरु नवीन र प्रवीण खतिवडा छन् । दुवै छोराहरु आफ्नो खुट्टामा उभिएका छन् । नवीन पत्रकारिता र प्रणित कलाकारिता पेशामा आबद्ध छन् । जेठी बुहारी जागिर खान्छिन्, कान्छी कलाकार छिन् । १ भाई र १ बहिनी मोरङको बेलवारीमा विद्यालय शिक्षक छन् ।

एसएलसी पास गर्ने ५ जनाभित्र परेँ

प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट लिएँ । हजुरबुवा राजनीतिक र धार्मिक पृष्ठभुमिको हुनुहुन्थ्यो । रुद्री, चण्डी, लगायत धार्मिक कुराहरु सिकाउने उहाँ नै पहिलो गुरु हुनुहुन्थ्यो । खुट्टा कुजिएको तर ज्योतिषी विद्या जान्ने ठुलो बुबा (बढी बा) पनि धर्मशास्त्रका राम्रा पुस्तकहरु पढाउनुहुन्थ्यो । अहिले पनि चण्डी रुद्रीका धेरै श्लोकहरु मुखाग्र छन्, बुझेको छु तर त्यसतर्फ रुचि पटक्कै भएन ।

हजुरबुबा हजुरआमाको मायामा हुर्कियो । बुबाहरु किसानी काम गर्नुभयो । सक्ने भएपछि घरमा बुबाआमालाई सघाउदै स्कुल पढियो । पछि काका (समवयी) र साथीभाइले पढेको देखेपछि ‘अंग्रजी स्कूल’ नै पढ्छौं भनेर कालिका प्राथमिक विद्यालय (हाल माध्यमिक) मा पढाइ सुरु गर्यौ । त्यहाँ प्रावि सकेपछि ६ कक्षाबाट ताप्लेजुङ बजारको विद्यालयमा गएर पढ्यौं । कक्षा ९ देखि मोरङको लेटाङमा पढी एसएलसी त्यहीबाट दिएँ । त्यसबेला एसएलसी पास गर्नेको संख्या एकदमै कम हुन्थ्यो । हाम्रो विद्यालयका ६५ जनामध्ये ५ जनाले मात्र त्यो वर्ष एसएलसी नियमित पास गर्यौ । म द्धितीय श्रेणीमा उत्तीर्ण भएँ ।
मलाई कख चिनाउने गुरु टिकाराम गौतम र माविमा शिक्षा र अंग्रेजी पढाउने वैद्यनाथ गुप्ताको छाप परेको छ । हिजोआज गुप्ता सर ‘मैले पढाएको विद्यार्थी सांसद छ तर पनि मलाई नमस्ते गर्छ’ भनेर अरुलाई सुनाउनुहुन्छ । 

विद्यालय कालमा राम्रो रहेको पढाइ क्याम्पस गएपछि भने राजनीतिमा लागेका कारण अपेक्षाकृत राम्रो हुन सकेन । धरानबाट प्रवीणता प्रमाण पत्र र बिराटनगरबाट बीए उत्तीर्ण गरेँ । नेपाली, सामाजिक, हिसाब आदि सजिलो भएपनि अंग्रेजी विषय कठिन लाग्थ्यो । अहिले पनि भाषाको कुरा गर्दा अंग्रेजी बुझ्छु तर बोल्न कठिन पर्छ भन्ने स्वीकार्छु ।

१९ वर्षमा मागी विवाह 

गाउँ नजिक सँगै स्कूल जाने दिलकुमारी भट्टराईसँग २०३८ सालमा मागी विवाह भएको थियो । अलिअलि आकर्षणका कुरा त भयो होला तर बिवाह भने मागी नै भएको हो । बिवाह हुँदा म १९ र उनी १६ वर्षका थियौं । विवाहका विषयमा खासै बिशेष स्मरण केही छैन । खेल खेलेको जस्तै भयो ।

मदन भण्डारीको प्रेरणाले सहकारीमा 

२०४९ सालतिर लेटाङ गाविस अध्यक्ष थिएँ । त्यसबेला एउटा कार्यक्रममा मदन भण्डारीसँग भेट भयो । उहाँले ‘बाटो, धारो, कुलो, पुल बनाउने काम हिजो प्रधानपञ्चले पनि गरेका थिए, अरुले पनि र्गछन् तर तपाई गाविस अध्यक्ष भएको बेला मानिसहरुले धेरैपछिसम्म सम्झिरहने, उनीहरुको आर्थिक आम्दानी र सामाजिक जीवन परिवर्तनसँग जोडिने विषय केही सोच्नुभएको छ ?’ भनी प्रश्न गर्नुभयो । त्यसबेला एकोहोरो राजनीतिक हिसाबले अघि बढेका कारण अरु विषयमा सोचिएको थिएन । भण्डारीले जन कम्युनको विषयमा पढ्न आग्रह गर्दै, त्योसँग मिल्दोजुल्दो, मिश्रित अर्थव्यवस्था सहितको सहकारी पद्धति बारे अध्ययन गर्न सुझाउनुभयो ।

त्यसपछि, गाविस बजेटको ५० हजार रुपैयाँ सहकारी व्यवस्थापनका लागि छुट्याए र त्यसबाट लेटाङमा प्रत्येक वडाबाट वडा अध्यहरु, गाविस अध्यक्ष, उपाध्यक्ष र सचिव सहित २ जना व्यक्तिहरु सहभागी गराई ५ दिने सहकारी तालिम आयोजना गर्यौ । विराटनगरस्थित जिल्ला सहकारी कार्यालयका निरीक्षक परशुराम दाहालले प्रशिक्षण दिनुभएको थियो । त्यो तालिममा सहकारीका सिद्धान्त, मुल्य मान्यता, सञ्चालकको भूमिका, सञ्चालक समिति गठन प्रक्रिया, जिम्मेवारी, विधान निर्माण, साधारण सभा आयोजना तरिका लगायत यावत विषयमा व्यावहारिक तालिम लियौं । लेटाङमा त्यसरी व्यवस्थित तालिमसहित आवश्यक पूर्व ज्ञान लिएर स्थापना भएका साकोसहरु अहिले १ अर्बको हाराहारीका धेरै छन् ।

फडानी (हाल जनचाहना) साकोसको प्रतिनिधित्व गर्दै नेफ्स्कून प्रवेश

त्यसपछि, मेरो हातैले कार्बन राखेर बिधान लेखी ३३ जनाले प्रति व्यक्ति ५० रुपैयाँ जम्मा गरी स्थापना गरेको फडानी बचत तथा ऋण सहकारी संस्था लि (गत वर्ष ५ वटा संस्थासँग एकीकरण पछि जनचाहना बचत तथा ऋण सहकारी संस्था लि.नामाकरण गरिएको) २०४९ साल कार्तिक ७ गते मेरो घरमा नै स्थापना गरियो । २०५० सालमा दर्ता भयो । उक्त संस्थाको म अहिले पनि सदस्य (सदस्यता नं ८) र सल्लाहकार छु । २०५१ सालमा फडानी साकोस नेफ्स्कूनमा आबद्ध भयो भने म पनिसंस्थाको तर्फबाट साधारण सभाको प्रतिनिधि भएँ । २०५२ सालमा नेफ्स्कूनको वार्षिक साधारण सभामा सहभागी भएँ र २०५३ साल माघबाट निर्वाचित सञ्चालक सदस्य । करिब ३० वर्ष सहकारी अभियानमा र ४७ वर्ष राजनीति क्षेत्रमा काम गरेँ । प्रारम्भिक संस्थाको स्थापना, संस्थापक अध्यक्ष हुँदै केन्द्रीय संघको महासचिवसम्म र राजनीतिमा सांसदसम्म भएँ । सहकारीकै मेसोमा स्वदेशका ६७ जिल्ला र भारत, बङ्गलादेश, थाइल्याण्ड, श्रीलंका, दक्षिण कोरिया भ्रमण गरी सहकारी बुझाइ फराकिलो बनाउने अवसर समेत पाएँ ।

कैलाशभक्त प्रधानाङ्ग ‘सहकारी पिता’ 

विचारले सहकारी भित्र हुल्ने काम मदन भण्डारीले गरेपनि यसभित्र लाग्नुभएका नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गलाई आर्दश पात्र मान्छु । सहकारी भित्र निष्ठा राखेर काम गर्ने उहाँ सहकारीको पिता हुनुहुन्छ । भोजराज घिमिरे, दीपकप्रकाश बाँस्कोटा, केशव बडाल, ऋषिराज घिमिरे लगायतको सहकारी योगदानको पनि उच्च मुल्याङ्कन गर्छु ।

नेफ्स्कूनबाट सहकारी पढाउन जाने पहिलो व्यक्ति ऋषिराज घिमिरे हुनुहुन्थ्यो । मोरङमा बचत ऋण सहकारी स्थापना भयो, गाविसका अध्यक्षहरु पनि सहभागी भएका छन् भन्ने बुझेपछि उहाँ तालिम लिएर जानुभयो र त्यसबेला म लेटाङ गाविस अध्यक्ष, वयरवन गाविका गाविस अध्यक्ष ताराबहादुर काफ्लेसहित करिब २५ जनालाई घिमिरेले सहकारीसम्बन्धी एक दिनको राम्रो तालिम दिनुभएको थियो । उहाँ पनि सहकारी क्षेत्रको मेरो गुरु नै हो ।

सहकारी ‘मन्दिर’ प्रवेश गर्दा ‘राजनीतिक’ जुत्ता फुकाल्नुपर्छ

सहकारी भनेको मन्दिर हो, मन्दिर भित्र पस्दा राजनीतिको जुत्ता बाहिर फुकालेर पस्नुपर्छ र राजनीति भनेको शौचालय हो र त्यहाँ भित्र पस्दा जुत्ता नलगाई जान सकिन्न । सहकारीका धेरै सिद्धान्तहरु राजनीतिमा लगेर कार्यान्वयन गर्न सकिन्छ तर राजनीतिक विचारलाई सहकारीमा प्रवेश निषेध गर्नुपर्छ । समुदायको हितका लागि राजनीतिभन्दा सहकारी क्षेत्रबाट बढी काम गरेँ र आत्मसन्तुष्टि पनि भयो भन्ने लाग्छ । राजनीतिलाई सहकारीमा लगेर भजाइन, सहकारी भित्र राजनीति सशरीर जानुहुन्छ भन्ने मान्यता राखिन ।

सहकारी पिधँको वर्गसम्म पुग्नुपर्छ

सहकारीले मध्यमवर्गलाई बढी छोएको छ, उच्च घरानाहरु बैंक र फाइनान्स कम्पनीतिरै बढी केन्द्रित छन् भने विपन्न वर्गलाई यसले अझै सम्बोधन गर्न सकेको छैन । खासमा विपन्न वर्गको साथी सहकारी बन्नुपर्छ । ‘तिम्रो साथी सहकारी छ है’ भन्ने आभाष उनीहरुलाई दिलाउन सक्नुपर्छ । केही सीमित सहकारीहरु ग्रामीण समुदायसम्म पुगेका छन् । लघुवित्तको माध्यमबाट गरिबी न्यूनीकरणमा काम गरेका छन् । यद्यपि, अधिकाशं सहकारीहरु पिधँसम्म पुग्न सकिरहेका छैनन् ।

हाम्रो भूगोल, गरिबी, अर्थतन्त्रलाई नियाल्ने हो भने गरिबी न्यूनीकरणको अत्यन्तै सफल माध्यम हो सहकारी । यद्यपि, त्यो पुर्णतः आभाष हुन सकेको छैन । सहकारीले त विपन्न, अल्पसंख्यक, पहुँचविहिन वर्ग समुदायलाई सेवा पुर्याउनुपर्छ । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावनाबाट सहकारीलाई उठाउनुपर्छ । मुलुककै समग्र सहकारी अभियानलाई हेर्दा मेरो गृह जिल्ला भएको प्रदेश नं १ पनि यो समस्याबाट मुक्त छैन । 

कोभिड संकटमा सहकारी उदाहरणीय बने

कोभिडको प्रभाव सहकारीमा परेको यर्थाथ हो । कोभिड र बन्दाबन्दीको समयमा  सदस्यहरुको आनासुकी खनखाँचो टार्ने र सहज पहुँचमा पुग्न सक्ने काम सहकारीले गरेका छन् । हिजो द्धन्दका समयमा पनि बैंक वित्तीय संस्थाहरुले दिन नसकेको सेवा सहकारीले दिएका थिए आज कोभिडको समयमा पनि यिनै सहकारीहरु प्रभावकारी साबित भएका छन् । समयमा किस्ता नउठ्ने, लगानीका क्षेत्र र सम्भावनाहरु खुम्चने समस्या सहकारीले भोगेपनि सेवा निरन्तरता दिई उदाहरणीय काम गरेका छन् । सहकारीमा जनशक्ति पनि समयानुकूल परिवर्तन भएको छ । शिक्षा, सूचना, प्रविधि र तालिम प्राप्त बनेका छन् । कतिपय स्थानमा सहकारीहरु उच्च प्रविधिमैत्री पनि भएका छन् । यो क्रम सबैतिर पुग्नुपर्छ ।

नेफ्स्कूनको ‘लेटाङ साधारणसभा’ ऐतिहासिक रह्यो

नेफ्स्कूनमा ६ वर्ष सञ्चालक र ९ वर्ष महासचिव भएर काम गरेँ । महासचिव भएर काम गर्दा सहकारी र त्यसमा पनि बचत ऋण सहकारीसँगै नेफ्स्कूनलाई गाउँसम्म पुर्याउने अभियान थाल्यौं । ‘नमूना जिल्ला संघ कार्यक्रम’ सञ्चालन गर्यौ । काठमाडौं उपत्यकाभन्दा बाहिर साधारण सभा गर्नै सकिदैन भन्ने थियो, मैले आफै संयोजनकारी भूमिका निर्वाह गरेर संघको ७ औं साधारण सभा पहिलो पटक काठमाडौं बाहिर आयोजना गरेँ । त्यो साधारण सभामा संघको विनियम संशोधन गरेर प्रत्येक सदस्य संस्थाले नियमित मासिक १ सय बचत गर्नुपर्छ भन्ने अनिवार्य व्यवस्था गर्यौ । त्यो बेलासम्म १ सयको सेयर बाहेक नियमित बचतको कार्यक्रम थिएन । संस्थाको दिगो विकास र सदस्यको अपनत्वका लागि त्यो काम सुरु गर्यौ जसका कारण पनि लेटाङ साधारण सभा ऐतिहासिक रह्यो । 

गाउँमा लगेर त्यत्रो प्रतिनिधिहरुलाई खाने, बस्ने आदिको व्यवस्थापनमा खटियो । त्यसबेला लेटाङमा बत्ती थिएन, जेनेरेटरको प्रबन्ध गरेर पनि प्रेजेन्टेसनको व्यवस्था मिलाएका थियौं । एशियाली ऋण महासंघबाट रञ्जित हितराची आउनुभएको थियो । नेफ्स्कून केन्द्रीय कार्यालय बाहिरबाट पनि सेवा दिनुपर्छ भनेर इटहरीमा फिल्ड कार्यालय स्थापना भयो जसको संयोजनमा पनि सहभागी भएँ । 

साकोस अभियानको राष्ट्रिय अन्तर्राष्ट्रिय फैलावट भयो 

हामीले त्यो समय हुम्ला पनि पुगेर सहकारी स्थापना गरेका थियौं । संस्था खोल्ने अभियानमा थियौं । अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनासँगै प्रगाढता कायम गरेका थियौं । क्यानाडा, आयरल्याण्ड आदिका सहकारी निकायबाट आर्थिक सहयोग पनि जुटाएका थियौं । राष्ट्रिय तहमा पनि यो केन्द्रीय संघ हो भन्ने आकारलाई फैलाउने कुरा, बचत गरेर नेफ्स्कूनमा कोष खडा गर्ने कुरा, अन्तरलगानी सुरुवात जस्ता कामहरु सँगै स्टेशनरी उत्पादन र बिक्रीको योजना पनि त्यसबेलाको सञ्चालक समितिले ल्याएको थियो । आजको नेफ्स्कूनको सफलताको आधारशिला इतिहासले निर्माण गरेको थियो । नेफ्स्कूनमा बिताएका १४ वर्षमध्ये २ पटक गरी ६ वर्ष सञ्चालक र बाँकी समय महासचिव भएँ । खासगरी महासचिव हुँदा चुनौतीहरु थिए तर तिनलाई पार लगाउन सघाउने थुप्रै साथीहरु आज पनि नेफ्स्कूनमा हुनुहुन्छ । अभियान, नेफ्स्कून सञ्चालक समिति र व्यवस्थापनले गरेको सहयोग जीवनभर भुल्नसक्दिन । 

एउटा घटना विस्मृत हुनसकेको छैन– क्यानेडियन कोअपरेटिभ एशोसिएसन (सीसीए) ले संघलाई आर्थिक सहयोग गरेको थियो । उक्त सहयोग रकमलाई निश्चित समयावधिभित्र वृद्धि गर्नुपर्ने सर्त राखिएको थियो । हामीले हरेक प्रयत्न गर्दा पनि सकिएन । आजको नेफ्स्कूनको वृद्धि र विकाससँग तुलना गर्दा त्यो सम्भव हुनुपर्ने हो तर भएन । यसबाहेक सुखद कुराहरु त नेफ्स्कूनमा धेरै छन् ।

युवाहरुले सहकारीका असल अन्तर्राष्ट्रिय अभ्यासहरु पढ्नुपर्छ

हाम्रो मुलुकका युवाहरुले केवल नेपालको सहकारीलाई मात्र हेर्ने होइन उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासलाई पनि पढ्ने बुझ्ने कोशिस गर्नुपर्छ भन्ने लाग्छ । जर्मनी, बेलायत, अमेरिका, क्यानाडा आदि थुप्रै मुलुकका सहकारी गतिविधिलाई पढ्नुपर्छ । त्यसले उनीहरुमा सहकारीप्रति आकर्षण बढ्छ । 

नेफ्स्कूनले घाम, पानी र हावाहुरीबाट सदस्यलाई संरक्षण गर्नुपर्छ

छाता संघको रुपमा नेफ्स्कूनले सदस्य संघ संस्थासँगै समग्र अभियानको प्रवर्धन गर्नुपर्छ । घाम, पानी, हावाहुरीबाट सदस्यलाई संरक्षण गर्नुपर्छ । सहकारीभित्र निम्न उल्लिखित आधारभूत विषयहरुलाई सबैले ख्याल गर्ने माहोल सृजनामा यसले अहम् भूमिका निर्वाह गर्नुपर्छः
सहकारी समुदायमा आधारित हुनुपर्छ
सहकारीले सदस्यसँग मात्रै कारोबार गर्नुपर्छ
सहकारी मुल्य मान्यता र सिद्धान्तबाट चल्नुपर्छ
सहकारीले असल राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरुलाई आन्तरिकीकरण गर्नुपर्छ

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’