शनिबार, वैशाख ८
१२:३२

संस्थागत पुँजीः वित्तीय सहकारीको दिगोपनाको आधार

सोमबार, भदौ १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बल्लभ तिमिल्सिना

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सहकारी संस्था एक अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । अर्थात् एकपटक गठन भैसकेपछि यो निरन्तर अनन्तकालसम्म सञ्चालन भैराख्नुपर्छ, अर्को पुस्ताको उत्तराधिकारीलाई हस्तान्तरण गर्दै लानुपर्छ । यसर्थ पनि सहकारी संस्था दिगो हुनै पर्छ । वित्तीय बजारको प्रतिस्पर्धी वातावरणमा सहकारीहरुले आर्थिक वृद्धिसँगै बजारमा बलियो उपस्थिति बनाउनु जरुरी छ । मुलधारका वित्तीय संस्थाहरु नपुगेको स्थानमा वित्तीय पहुँच अभिवृद्धि गरी न्युन आय भएकाहरुलाई प्रतिस्पर्धी दरमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने काम वित्तीय सहकारीहरुले गरिरहेका छन् । सहकारी अविच्छिन्न रुपमा सञ्चालन गर्ने गरी स्थापित संस्था हुन् । यसर्थ पनि संस्था गठन गरिसकेपछि दीर्घकालसम्म सुरक्षित रुपमा सञ्चालन गर्ने गरी रणनीति तय गर्नु अहिलेको प्रमुख चुनौती हो । 


के हो सहकारीको संस्थागत पुँजी ?
वित्तीय सहकारी संस्थाहरु बैंक जस्तै कार्य गर्ने र बैंक जस्तै देखिने गरी सञ्चालन हुने प्रकृतिका सहकारी हुन् । तर नाफा आर्जन र वितरणको सिद्धान्तमा भने बैंक भन्दा सहकारीहरु फरक छन्, अर्थात् सहकारी संस्थाहरुले नाफा कमाउने र वितरण गर्ने भन्दा पनि सदस्य सेवालाई प्राथमिकतामा राखेका हुन्छन् । सहकारी संस्थाले आर्थिक वर्षको अन्त्यमा हासिल गरेको खुद बचत (नाफा) बाट सहकारी ऐनले व्यवस्था गरे अनुसार छुट््याएको जगेडा कोष र अन्य खर्च भएर नजाने (अवितरित) सबै प्रकारका कोषहरु नै सहकारीको संस्थागत पुँजीहो । कुनै कोष खर्च भएर जान्छ भने त्यस्ता कोषलाई संस्थागत पुँजीको रुपमा गणना गरिदैंन । सहकारी ऐन २०७४ को दफा ६८ ले जगेडा कोषको लागि निम्नानुसार व्यवस्था गरेको छ, 

(१) सहकारी संस्थामा एक जगेडा कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायबमोजिमको रकम रहने छन् ः–
(क) आर्थिक वर्षको खुद बचत रकमको कम्तीमा पच्चीस प्रतिशत रकम ,
(ख) कुनै संस्था, संघ वा निकायले प्रदान गरेको पूँजीगत अनुदान रकम,
(ग) स्थिर सम्पत्ति बिक्रीबाट प्राप्त रकम,
(घ) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (१) बमोजिमको कोषको रकम अविभाज्य हुनेछ ।

यस्तै सहकारी नियमावली २०७५ ले तोकेका विभिन्न कोषहरु जुन खर्च वा वितरण हुँदैनन्, ती सबैलाई पनि संस्थागत पुँजीको रुपमा लिन सकिन्छ । संस्थागत पुँजी वित्तीय सहकारीहरुको दीगो सञ्चालनको लागि मेरुदण्ड सरह हो । संस्थागत पुँजीलाई सहज रुपले बुझ्न २ वटा कुरालाई बिर्सनु हुँदैनः 
१) यो रकम घट्दैन 
२) यो रकममा कुनै प्रकारको व्याज जस्ता खर्च तिर्नुपर्दैन । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सहकारी संस्थाले लाभांश वितरणलाई नै पहिलो प्राथमिकतामा राखेका छन् भने संस्थागत पुँजी कोष कम हुन्छ । सहकारी संस्था नाफामुखी होइन भनेर सैद्धान्तिक रुपमा व्याख्या गरिएको छ, यसर्थ नाफामुखी नभएपछि यसले लाभांश वितरणमा मात्र आफुलाई केन्द्रित गर्नु हुँदैन । वित्तीय बजारमा उपलब्ध सेवाहरुको छनौट गर्दा आम मानिसहरुले सहकारीबाट सस्तो दरमा सजिलो सेवा उपभोग गर्न सक्नुपर्छ भन्ने मान्यता राखेका हुन्छन् । यसर्थ संस्थागत पुँजीले वित्तीय सहकारीको वित्तीय संरचनामा ओगटेको हिस्साले सहकारी संस्थाले दिने सेवाको मूल्य कम गर्न मद्दत गर्दछ । तुलनात्मक रुपमा यदि संस्थागत पुँजी १० प्रतिशतभन्दा बढी छ भने अन्य वित्तीय संस्थाहरुले भन्दा कम लागतमा वित्तीय सेवाहरु उपलब्ध गराउन सहकारी संस्थाहरु सक्षम हुन्छन् । विश्व ऋण परिषद ओकुले वित्तीय सहकारीहरुको खुद संस्थागत पुँजी कुल सम्पत्तिको आधारमा कम्तिमा १० प्रतिशत हुनुपर्ने कुरालाई जोड दिएको छ ।  

 

 

 

 

 

 

 

 

 

 

 

 

वासलातको आकार ठूलो हुँदैमा मात्र संस्थालाई सुरक्षित र भरपर्दो मान्न सकिदैंन । संस्थागत पुँजी बलियो भएको संस्थाले मात्रै गतिलो मुनाफा आर्जन गर्न सक्छ । वासलातको आधारमा रहेर दुईवटा सहकारी संस्थाको तुलना गर्दा संस्थागत पुँजी तुलनात्मक रुपमा भन्दा बढी भएको संस्थाले बढी मुनाफा आर्जन गर्न सक्छ भलै त्यो संस्थाको वासलात अर्कोको भन्दा आधा किन नहोस् । संस्थागत पुँजी लागतरहित कोष हो र यो कोषमा कुनै पनि व्यक्तिगत सदस्यको हक लाग्दैन । अर्थात् संस्थागत पुँजीले आर्जन मात्रै गर्छ र यो कोषलाई बचतमा व्याज भुक्तानी गरे जसरी केही पनि पनि लागत बेहोर्नु पर्दैन । जगेडा कोषका अतिरिक्त घरजग्गा कोषलाई पनि संस्थागत पुँजीभित्र गणना गर्न सक्ने गरी हालैको ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैलाई आधार मानेर यहाँ २ वटा सहकारीहरुको वासलातलाई प्रस्तुत गरी माथिका कुराहरु प्रमाणित गर्न खोजिएको छ । 
मान्यताहरुः
क) दुईवटै संस्थाको वासलातको आकार बराबर छ, 
ख) दुईवटै संस्थाको आम्दानी र खर्चका दरहरु बराबर छन्, 
ग) एउटा संस्थाको संस्थागत पुँजी १० प्रतिशत छ र अर्को संस्थाको संस्थागत पुँजी १.५ प्रतिशत मात्रै छ । 
घ) सहजताको लागि दुई वटै वासलातलाई संक्षेपमा प्रस्तुत गरिएको छ । 

हामीले माथि ‘सहकारी क’ मा हेर्यौं भने वर्षमा पचासी लाख रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ । यसको अन्य कारण केही हैन, संस्थागत पुँजी क सहकारीमा १० प्रतिशत थियो र ‘सहकारी ख’ मा १.५ प्रतिशत मात्रै । ‘सहकारी क’ लाई १० करोड रुपैयाँमा केही खर्च लागेन भने ‘सहकारी ख’ लाई १ करोड ५० लाख रुपैयाँमा मात्रै केही खर्च लागेन । यसर्थ बिना व्याजको रकम बढी भएको सहकारीले वार्षिक ८५ लाख रुपैयाँ बढी आम्दानी गर्न सफल भयो । संस्थागत पुँजीको महत्व यतिमा मात्रै सीमित छैन । संस्थागत पुँजीले भविष्यमा संस्थालाई वित्तीय संकट आइपर्दा यही रकमले संस्थालाई दिगो रहन मद्दत गर्दछ ।  

(सहकारी प्रशिक्षणमा गहिरो र लामो अनुभव प्राप्त लेखक नेफ्स्कूनका बरिष्ठ अधिकृत हुनुहुन्छ ।)

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ